शेरधन राई भन्छन्ः १ नम्बर प्रदेशको राजधानी भोजपुर, धनकुटा र इटहरीमध्ये एक हुन्छ ।

काठमाडौं (रासस)– भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरू प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् ।

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित भएका छन् भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राई निर्वाचित भएका छन् ।

निर्वाचित भइसकेपछि भोजपुरका लागि विकासका के प्राथमिकता हुन सक्छन् भनी प्रश्न गर्दा प्रदेशसभा सदस्य शेरधन राईले भने, ‘भोजपुरको विकासका लागि सडक र विद्युतीकरण नै प्राथमिकतामा पर्छन् । त्यसपछि खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता पनि छ । हामी घोषणापत्रअनुसारका प्रतिबद्घतालाई सूत्रबद्ध गरी काम शुरु गर्छाैं ।’

भोजपुरबाट विजयी बनेर मुख्यमन्त्रीको दाबेदार रहेका राई भन्छन्, ‘प्रदेश नं १ तुलनात्मकरुपमा विकासको सम्भावना भएको प्रदेश हो, यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालुसहित आठ हजार मिटर माथिका धेरै हिमाल भएकाले पर्यटनको राम्रो सम्भावना छ भने अरुण, तमोरलगायत कोशी नदी पनि भएकाले विद्युत् उत्पादनको पनि अपार सम्भावना छ । हामीले यस प्रदेशबाटै भारत, चीन, भुटान र बंगलादेशसँग सडक सञ्जालले जोडी मुलुकको व्यापार विस्तार गरी समृद्धि हासिल गर्न सक्छौँ ।’

प्रदेश नं १ को राजधानी कहाँ उपयुक्त हुन्छ भनी प्रश्न गर्दा उनले भौगोलिकरुपमा केन्द्रमा पर्ने भएकाले भोजपुर पनि उपयुक्त हो, यदि सो हुन नसकेमा धनकुटा तथा इटहरी पनि भोजपुरका लागि राम्रा विकल्प भएको उनको विचार थियो । साथै उनले प्रदेशको राजधानी र नामांकन प्रदेशसभाको दुई तिहाइले मात्र तोक्नसक्ने बताए । नयाँ सरकार बनेपछि यस क्षेत्रमा निश्चय नै परिवर्तन आउने उनको दाबी छ ।

यस क्षेत्रमा कृषि, पर्यटन, जलस्रोतको तीव्र विकास गरी प्रदेशलाई समृद्घ बनाउन सकिने र पर्यटन विकासका लागि विराटनगर विमानस्थललाई पनि यथोचित विकास गर्नुपर्ने उनले बताए ।

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले भोजपुर शैक्षिक र राजनीतिक जागरणका हिसाबले माथि भए पनि विकासमा पछि परी पूर्वकै कर्णाली जस्तै रहेकाले सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमै ध्यान दिनुपर्ने बताए । समग्र प्रदेशकै विकासको सन्दर्भमा पनि वाम गठबन्धनका तर्फबाट भोजपुरको प्रदेश नं (ख) बाट निर्वाचित शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको पनि उनले बताए । सो हुनसकेमा समग्र १ नं प्रदेशको विकासमा भोजपुरले नेतृत्व गर्ने र भोजपुर पनि यसबाट लाभान्वित हुने उनको भनाइ छ ।

भोजपुरको प्रदेश (क) बाट प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राईले पनि भोजपुरको मुख्य समस्या बाटो नै भएको बताउँछन् । भोजपुरको उत्तरी क्षेत्रका लागि भने अरुण नदीमाथि लम्सुवाघाटको पुल बनिनसकेका कारण मुख्य राजमार्गसँग जोडिन नसक्दा ढुवानी भाडा महँगो हुन गई उपभोग्य सामग्री महँगो हुने गरेको उनले बताए ।

नेता राईले बाटाघाटा वर्षामा नचल्ने भएकाले स्तरोन्नति हुनुपर्ने र सडक सञ्जाल विस्तार हुनुपर्ने बताए । भोजपुरको पर्यटन विकासका लागि टेम्के, मैँयु र साल्पापोखरीको विकास गर्नुपर्ने राईले बताए । तेञ्जिङ र हिलारीले पहिलोपटक सगरमाथा चढ्न जाँदा भोजपुर भई गएको मार्गको पनि प्रचारप्रसार र प्रवद्र्घन हुनुपर्ने पनि उनले बताए । भोजपुरको टेम्के नजिक चखेवा भञ्ज्याङ पनि राजधानीका लागि उपयुक्त हुने चर्चा चले पनि पूर्वाधार नभएको सम्बन्धमा भने विस्तारै विकास गर्न सकिने पनि उहाँले बताए ।