देउवाद्वारा पौडेल, निधि, सुजातासहित १० जनालाई केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन् ।

शनिबार उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १४औँ महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी समेत रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वउपसभापति विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, नेत्री सुजाता कोइरालालगायत नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनीत हुनेमा दुई मन्त्री पनि छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी पनि केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।

यस्तै, डा. प्रकाशशरण महत र मीनबहादुर विश्वकर्मालाई पनि मनोनीत गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जना महाधिवेशनमार्फत चयन हुन्छन् । सभापतिले क्लष्टर मिलाएर ३३ जना मनोनीत गर्न पाउने व्यवस्था विधानमा छ ।

आज केन्द्रीय सदस्य मनोनीतमध्ये सिंह र निधि १४औँ महाधिवेशनमा सभापति पदमा पराजित भएका थिए ।

यस्तै, देउवाको प्यानलबाट गच्छदार उपसभापतिमा र डा. महत महामन्त्रीमा पराजित भएका थिए । सुजाता प्रकाशमान प्यानलबाट उपसभापतिमा पराजित भएकी थिइन् ।

विश्वकर्माले केन्द्रीय सदस्यबाट उमेदवारी फिर्ता लिएका थिए । पौडेल र सिटौला कुनै पनि पदमा उमेदवार बनेका थिएनन् ।