भारतीय पत्रकारले लन्डनमा होटलको काँटाचम्चा चोरेपछि…

नयाँदिल्ली– भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन गएका भारतीय पत्रकारहरुले होटलको काँटा–चम्चा चोर्दै गर्दा रंगेहात समातिएका छन् ।

केही पत्रकारलाई पनि साथमा लगेकी मुख्यमन्त्री ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही प्रख्यात हस्तीसमेत थिए ।

रात्रिभोजका दृष्य उच्चस्तरका सिसिटिभी क्यामेराले कैद गरिरहेको थियो । तर केही भारतीय पत्रकारले धमाधम टेबलबाट चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालिरहेका थिए ।

होटल प्रशासनले सिसिटिभी क्यामेराबाट सो दृष्य हेरिरहेको भए पनि तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन । तर रात्रिभोज सकिनै लाग्दा भने होटलका केही कर्मचारी आएर ती पत्रकारलाई उनीहरुको कर्तुत आफूहरुलाई जानकारी भएको बताएका थिए । केही पत्रकारले काँटाचम्चा फिर्ता गरे पनि एकजनाले भने आफूले नचोरेको दावी गर्दै आएका थिए ।

होटलका कर्मचारीले ती पत्रकारलाई प्रहरीमार्फत आवश्यक कारवाही हुने धम्की दिएपछि भने उनले गल्ती स्वीकार गरेको बताइएको छ । उनलाई ५० डलर जरिवानासमेत तिराइएको थियो ।

घटनाबारे जानकारी पाएपछि मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट भएको बताइएको छ । भारतीय संचारमाध्यमले उक्त घटनाबारे समाचार प्रकाशमा ल्याए पनि होटलको काँटाचम्चा चोरीमा संलग्न पत्रकारको पहिचान खुलाएका छैनन् । यद्यपि ती पत्रकार पश्चिम बंगालमा अग्रज मानिने र ममता बनर्जीसँग वर्षौंदेखि निकट रहँदै आएका बताइएको छ । एजेन्सी