डा.केसी फेरी अनशन बस्ने

काठमाडौं– प्रा.डा.गोविन्द केसीले आगामी २९ गतेदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनशन बस्ने घोषणा गरेका छन् । शनिबार विज्ञप्ति जारी गरी १० दिनभित्र पनि प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त नगरे २९ फागुनदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।

शनिबार प्रा.डा.केसीले दुईबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका छन् । प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने उनको माग छ ।प्रा.डा.केसीले भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले प्रधानन्यायाधीश पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएको बताएका छन् ।उनले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठह¥याइएका पदाधिकारीहरूलाई तत्काल आयोगको सिफारिसबमोजिम कारबाही गर्न पनि फागुन २९ गतेसम्मको समयसीमा दिएका छन् ।

उनले प्रधान न्यायधीश गोपाल पराजुलीले गरेको भ्रष्टाचार र चरम पदीय दुरूपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेकाले न्यायालयको मर्यादा फर्काउनका लागि पनि उनले पद छाड्नुपर्छ भनेर हामीले यस अघि एक चरण सत्याग्रह गरिसकेका र त्यस क्रममा रातारात अवैध रूपमा हामीमाथि धरपकड गरिए पनि अन्ततः सर्वोच्च अदालतको इजलासले प्रधानन्यायधीश पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने आदेश दिए पनि सो आदेशको कार्यान्वयन नभएको भनेका छन् ।

संसदले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत गर्ने विश्वास लिँदै समयमै सही रूपमा ऐन पारित नभएको खण्डमा त्यसका लागि उचित कदम चाल्न आफू बाध्य हुने पनि जनाएका छन् । उनले तत्काल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।