एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता

भक्तपुर– लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक हजार ६६ भूकम्पपीडितले मात्रै भवन निर्माणका लागि तेस्रो किस्ता लिएको प्राधिकरणको भक्तपुर शाखाका प्रमुख शिवराम गेलालले जानकारी दिए।

जिल्लामा २७ हजार ६४४ भूकम्पपीडित लाभग्राही सूचीमा रहेका छन् । हालसम्म २३ हजार १२५ लाभग्राहीले अनुदान रकमका लागि सम्झौता गरेका छन् । बाइस हजार ७९२ ले पहिलो तथा दुई हजार ७८ भूकम्पपीडितले दोस्रो किस्ता लिएका छन् ।

अनुदान रकम प्रक्रियामा रहेका पनि पहिलो किस्ताका लागि ३३३, दोस्रो किस्ताका लागि ३८५ र तेस्रो किस्ताका लागि ५५० लाभग्राही रहेका छन् भने घरनिर्माण शुरु गर्नेको संख्या सात हजार ३२ मात्रै रहेको गेलालले बताए ।जिल्लामा सगोल परिवारको जग्गा विवाद, पुरातात्विक क्षेत्र, नक्सा पासमा कठिनाई तथा घर बनाउन रकम अभावका कारण घर निर्माणमा ढिलाइ भएको अनुगमनका क्रममा पाइएको उनको भनाइ छ ।

कार्यक्रममा प्राधिकरण शिक्षा शाखाका देवकुमार बडालले जिल्लामा तीनवटा विद्यालयको तीन कोठे भवन पुर्नःनिर्माण सम्पन्न भएको, आठवटा विद्यालयको क्रमागत रुपमा निर्माण भइरहेको र नौवटासँग सम्झौता भएको जानकारी दिए ।

उनले भक्तपुर नगरपालिकाभित्र रहेको नमूना विद्यालयको छनोटमा परेको श्रीपद्यम उमाविको करिब रु १४ करोडको लागतमा बन्न लागेको भवन सम्पदा क्षेत्रभित्र परेको भन्दै नगरपालिकाले नक्सापास नगरी दिँदा निर्माण हुननसकेको र विद्यार्थी निकेतनमा पनि यस्तै समस्या रहेको बताए। सम्पदा निर्माणको क्रम जारी रहेको प्राधिकरणले जनाएको छ ।