सडक स्तरोन्नती थालियो

म्याग्दी– सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ ।ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा रु ४३ लाखको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए।

सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायत काम गरिने उनले बताए। रु २० लाख विनियोजन गरिएको खबरा–भीरकुना–कन्थारथान–भकुण्डे सडकको काम उपभोक्ता समिति गठन गरेर भइरहेको छ ।यस्तै, रु पाँच लाखमा बाङगेरा–पिपलडाँडा–भकुण्डे सडक फराकिलो बनाउने काम अन्तिमचरणमा पुगेको छ । उक्त सडकमा सोलिङ र नाली बनाउने काम बाँकी छ । कोटखोला–उपल्लोफाँट–बालथारा हुँदै मरुवा सडक फराकिलो बनाउने काम सकिएको छ ।

यसैगरी, रु पाँच लाख विनियोजन भएको दारीम्बोट क्षेत्रमा सडक विस्तारसँगै सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा कार्यालय रहेको भकुण्डे–काउनाखर्क–गौश्वारा सडकअन्तर्गत ४०० मिटर ट्र्याक खोल्ने र स्तरोन्नती गर्न रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष थापाले बताए। बिमीराबोट–मालीका सडक फराकिलो बनाउन तथा ठूलोगैरा–बिरायचौर सडकलाई रु डेढ/डेढ लाख विनियोजन गरिएको छ ।