प्रदेश ५ सरकारले ५१ करोड १४ लाखको कोरोना कृषि कार्यक्रम सञ्चालन गर्ने

रुपन्देही– प्रदेश नं ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कार्यक्रमका लागि रु ५१ करोड १४ लाख आगामी साउन मसान्तसम्म खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

सरकारले कृषि एम्बुृलेन्स परिचालनका लागि रु ३४ लाख छुट्टयाउने निर्णय गरेको छ । गुल्मी,प्युठान, रुकुम र रोल्पामा बेमौसमी आलु उत्पादन कार्यक्रम सञ्चालनका लागि रु एक करोड २० लाख बजेट छुट्टयाइएको छ । कार्यक्रमबाट जिल्लाका पाँच सय किसान लाभान्वित हुने सरकारको विश्वास छ । यस्तै सरकारले व्यावसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन गर्न दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र रुकुम जिल्लामा अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सो कार्यक्रमबाट सात हजार किसान लाभान्वित हुने अनुमान छ । कम्तीमा दुईदेखि छ रोपनीमा खेती गरेका किसानलाई सो कार्यक्रममा समावेश गराइने छ । मल र बीउका लागि प्रतिरोपनी रु पाँच हजारका दरले अनुदानसमेत दिइने सो कार्यक्रमका लागि रु १४ करोड खर्च गर्ने निर्णय भएको सल्लाहकार केसीले जानकारी दिए ।

यस्तै सरकारले कोभिड—१९ का कारण विदेशबाट फर्केका र व्यावसायिक खेती उन्मुखका लागि प्रोत्साहन गर्न रु २१ करोड ८० लाख खर्च गर्ने निर्णय गरेको छ । एक सय नौवटै पालिकामा सञ्चालन हुने सो कार्यक्रमअन्तर्गत व्यावसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउघर र खोर निर्माण गर्न प्रतिकिसान रु २० हजारका दरले सहयोग गरिने छ । यसबाट १० हजार नौ सय लाभान्वित हुनेछन् । ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि रु सात करोड छुट्टयाउने निर्णय भएको छ । यो कार्यक्रमअन्तर्गत दुई हजार किसानलाई रु ३५ हजार दरले अनुदान दिइने र छ हजार लाभान्वित हुने अनुमान गरिएको छ ।

दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि रु दुई करोड ८० लाख छुट्टयाएको छ । दूध उत्पादनको आठ महिनाको बिक्री तथ्याङ्क हेरी लकडाउनको ४० दिनको प्रतिलिटर रु १० का दरले अनुदान दिइने छ ।
प्रदेशका सबै जिल्लामा बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि रु चार करोड खर्च गर्ने निर्णय भएको छ । बीस हजार बिघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने र प्रतिबिघा रु २० हजारका दरले अनुदान दिने निर्णय भएको प्रेस सल्लाहकार केसीले जानकारी दिए । यी सबै कार्यक्रमबाट ४१ हजार चार सय प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।

यसैगरी बैठकले रोल्पामा बम विस्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णयसमेत गरेको छ । बैठकले प्रदेश स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली स्वीकृत गरेको छ ।
प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति दिने निर्णय भएको छ । यही जेठ ९ गते प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा क्वारेन्टाइनमा बस्नेलाई विशेष व्यवस्था गर्ने र त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने तथा बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गर्ने निर्णय गरेको छ ।
यसैगरी बुटवलमा दुई सय शय्या थप्ने, भैरहवाको भीम अस्पतालमा एक सय शय्या थप्ने तथा बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा बिरामी पठाउने, बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेशन बेड तयार गर्ने र स्वास्थ्योपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय भएको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।