राधालाई बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

कैलाली– कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन ।सोही गाउँकी आफुलाई ‘पार्वती’ भनेर कुटपिटमा संलग्न भएको भन्दै किस्मती चौधरी (पार्वती)लाई प्रहरीले पक्राउ गरेको छ ।

देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन ।रामबहादुर यसअघि नै पक्राउ परे पनि कस्मती फरार रहेकी थिइन । उनलाई ईलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ ।

पक्राउ परेकी किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले स्वास्थ्य परीक्षण गरी महिला सेलमा राखिएको छ ।पक्राउ परेका दुबै रामबहादुर चौधरी र किस्मती चौधरीलाई आजै जिल्ला अदालतबाट म्यादथप गराई थप अनसुन्धान गरिने डिएसपी सागर बोहोराले बताए ।