मानवीय कार्यमा प्रवासमा सक्रिय बन्दै इलाम सेवा समाज, प्रेम राई बचाउ अभियानलाई १ लाख बढी प्रदान

काठमाडौं (पास)– २३ जनवरी २०१५ मा कतारमा स्थापित इलाम सेवा समाज दोहा कतार इलाम जिल्लाबाट विदेशिएका इलामेलीहरुद्वारा स्थापित सेवामुखी संस्था हो ।

परदेशमा रहँदा इलामेलीहरुलाई केही गाह्रो–अफ्ठ्यारोमा भरथेग अनि सहयोग गर्ने हेतुले शुरु गरिएको उक्त संस्थाले सुरुवाति चरणबाटै अत्यन्तै सक्रियताको साथ काम गरिरहेको छ । प्रवासमै रहेर मेहनतले आर्जेको रकममध्ये केही अंश सामाजिक कार्यको लागि छुट्याएर प्रसंसनीय कार्य गरिरहेको इलाम सेवा समाजले विनाशकारी भूकम्प, अग्नि पीडित, अपांग व्यक्तिहरु, बृद्ध बुवा–आमा, लेखकुद, कला–साहित्य जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

यस्तै मानवीय क्षेत्रमा उदाहरणीय काम गरिरहेको सो समाजले हालै साउदीअरबको जेलमा रहेका इलामका प्रेम राईलाई नेपाल फर्काउनको लागि १,०२,०४०।– रुपैयाँ (एक लाख दुई हजार चालीस रुपैयाँ) सहयोग गरेको छ ।

उक्त संस्थाका पूर्व उपाध्यक्ष कर्णबहादुर लिम्बू र कार्यसमिति सदस्य एवं जनसम्पर्क समितिका संयोजक मन कुमार लिम्बूले उक्त रकम परिवारलाई हस्तान्तरण गरेका छन् ।

प्रेम राईलाई घर फर्काउ अभियानमा संस्थाले ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिमा मनकुमार लिम्बूको संयोजकत्वमा बिबेक आचार्य, स्याम घिमिरे, गँगा गुरुङ, गोपाल न्यौपाने रहेर काम गरेका थिए । रकम हस्तान्तरण गरेसँगै प्रेम राई बचाउ अभियानको लागि रकम संकलन कार्य सम्पन्न भएको संस्थाका अध्यक्ष रोशन गहतराजले जानकारी दिए ।