भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

लमजुङ– अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ ।

ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो ।

जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ ।

बिगोबमोजिम उनलाई आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन ।