वर्षातले कतै बस कतै ट्रक त कतै जीप पुरियो

काठमाडौं– आइतबारदेखिको अबिरल वर्षाले देशभरका विभिन्न स्थानहरुमा बाढी तथा पहिरोको प्रकोप सुरु भएको छ ।

सोमबार धादिङको कृष्णभीरमा पहिरो खस्दा जीप पुरिएको छ भने दाङमा बाढीले बस बगाएको छ भने रोल्पामा सुत्केरीसहित ३ को मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको छ । जीपको समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन नपाएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।

प्रहरीका अनुसार नदीबाट पार गर्दैगर्दा सोमबार बिहान बस बिग्रिएको थियो । त्यहाँ बस अड्किएको केही समयपछि नदीमा पानीको बहाव बढ्दै गयो । र, बस ६ मिटर तलसम्म बगेको थियो । प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ । त्यस्तै पर्सामा बाढीले मालबहाक ट्रक बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।