हारको समीक्षा नगरी सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं– चुनावको समीक्षा र राष्ट्रिय निर्वाचनको छलफल गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चुनावको समीक्षा नगरी नै सम्पन्न भएको छ ।

चुनावी हारको समीक्षा र राष्ट्रिय निर्वाचनको छलफल गर्न भन्दै बिहीबारदेखि बसेको बैठकमा चुनावको समीक्षा नगरी बैठक सम्पन्न भएको छ ।

बैठकमा सहभागी अधिकांश सदस्यहरुले चुनावको समीक्षा हुनुपर्ने माग गरे पनि सभापति शेरबहादुर देउवाले अर्को बैठकमा समीक्षा गरिने भन्दै मिति नतोकी बैठक बिसर्जन गरिएको बताइन्छ ।

सभापति देउवाले बिहीबारको बैठकको सुरुमै समीक्षा बैठक निकटभविष्यमा राख्ने भनेका थिए । त्यसमा खुलेर सहभागी हुन पनि सबै सदस्यलाई आग्रह गरेका थिए ।

अब कांग्रेसले निर्वाचनको समीक्षा बैठक भने अझै एक महिना लम्याउने देखिएको छ । यस्तो बैठक छिट्टै डाक्न केन्द्रीय सदस्यहरुले पार्टी सभापति देउवालाई दबाब दिँदै आएका थिए ।

बिहीबारदेखि बसेको बैठकमा देउवा पक्षले वाम गठबन्धनका कारण हारिएको बताउँदै राष्ट्रियसभामा जुट्नुपर्ने धारणा राखेका थिए । रामचन्द्र पौडेल पक्षधरहरुले भने उम्मेदवार बनाउने संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत भएको भन्दै विघटन गर्न माग गरेका थिए भने युवाहरुले भने नेतृत्वले चुनावी हारको जिम्मा लिनुपर्ने धरणा राखेका थिए ।

नेताहरुले शुक्रबार सकिएको बैठकले समीक्षा बैठकको मिति तय गर्ने अपेक्षा गरिएको थियो तर त्यसो भएन । मिति नतोकी समीक्षा बैठकमा प्रस्तुत गर्न एक महिनाभित्र गाउँदेखि जिल्लासम्मका कार्यसमितिले गरेको समीक्षा र निर्णयहरु साथै प्रत्यक्षतर्फका उम्मेदवारलाई प्रतिवेदन पेस गर्न निर्देशन बैठकले निर्देशन दिएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई नेपाली कांग्रेसले बधाई दिएको छ । निर्वाचनपछि पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री, नेपाल सरकार, निर्वाचन आयोग लगायत सबैलाई धन्यवाद दिएको हो ।

‘सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुले अत्यन्त उत्साह, संयम र धैर्यताका साथ आङ्खनो मत दिनु भएको छ । निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले नेपाली कांग्रेसलाई थप प्रेरणा मिलेको छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ, ‘निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पूरा गरी संविधान कार्यान्वयनका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिकाका लागि सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई हार्दिक धन्यवाद ।’