अब नेपालमा पानीजहाजको कार्यालय खुल्ने

काठमाडौँ– नेपालमा पनि अब पानी जहाजको कार्यालय खुल्ने भएको छ । सरकारले नेपाल पानी जहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेसँगै कार्यालय खुल्ने पक्का भएको हो ।

मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक÷एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको मन्त्रालयका सूचना अधिकारी लेखनाथ ज्ञवालीले जानकारी दिए ।

पानीजहाज ऐन २०२७ अनुसार गठन हुने कार्यालय काठमाडौँमै रहने जनाइएको छ । कार्यालय स्थापना र कर्मचारी खटाउने बारेमा मन्त्रालयले गृहकार्य गरिरहेको उनले सुनाए ।