माल्दिभ्समा सत्तारुढ दल विजयी

माले (रासस/सिन्ह्वा)– माल्दिभ्सको निर्वाचन आयोगले शुक्रबार सत्तारुढ दल माल्दिभ्स डेमोक्र्याटिक पार्टी (एमडीपी) विजयी भएको घोषणा गरेको छ ।

केही दिन अगाडि भएको निर्वाचनबाट माल्दिभ्सको संसदको कूल ८७ सिटमध्ये ६५ सिटमा सो पार्टी विजयी भएको घोषणा गरिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार माल्दिभ्सको इतिहासमै एउटै पार्टीले पहिलो पटक यति धेरै सिटमा जित हासिल गरेको हो ।

पूर्वराष्ट्रपति अब्दुल्ला यमिनको प्रोग्रेसीभ पार्टी अफ माल्दिभ्स र पिपल्स नेशनल कँग्रेसले संयुक्तरूपमा आठ सिट जितेको आयोगले जनाएको छ ।

त्यसैगरी जुम्हुरी पार्टीले पाँच, माल्दिभ्स डेभलपमेन्ट एलाइन्सले दुई सिटमा जित हासिल गरेको प्रवक्ता अक्रामले जानकारी दिए ।

आयोगका अनुसार अरू सात जनाले स्वतन्त्र उम्मेदवार भएर संसदमा आफ्नो सिट सुरक्षित गरेका छन् ।

पूर्वराष्ट्रपति यमिनलाई जबरजस्ती हटाइएपछि माल्दिभ्समा गत शनिबार पहिलो पटक आम निर्वाचन भएको हो ।

गत सेप्टेम्बरमा भएको निर्वाचनबाट अहिलेको सत्तारुढ दलका नेता मोहम्मद इब्राहिम सोलिह विजयी भएपछि यमिन सत्ताबाट बाहिरिएका थिए ।