खुट्टाको सर्जरी गर्न कुँवरलाई आर्थिक सहयोग

काठमाडौं (पास)– भोजपुर जिल्ला साविक देवानटार आम्चोक गाउँपालिका–६ निवासी सबिना कुँवर (पिडीत मनको साथी चन्चली) को खुट्टाको सर्जरी गर्न आर्थिक सहयोग जुटेको छ ।

पाथीभरा मिडिया ग्रुप प्रवास नेपालद्वारा सञ्चालित अभियानद्वारा ७६ हजार ६ सय चार रुपैँया कुँवरलाई सहयोग हस्तान्तरण गरेको हो ।
इटहरीको कालाबन्जरास्थित पीडितको कुँवरको घरमा एक कार्यक्रम गरी अभियानका संयोजक ग्रुपका सह–सचिव कल्पना श्रेष्ठ र कोषाध्यक्ष सुबास राई समीपले हस्तान्तरण गरेका हुन् ।

कुँवरको खुट्टाको सर्जरी गर्न गत २०७५ फागुन २५ गते बाट थालिएको सहयोग संकलन अभियान २०७६ बैशाख २५ मा बन्द गरिएको ग्रुपका द्वितीय उपाध्यक्ष अबिनाश पौडेलले जानकारी गराए ।
बच्चामै सबिना कुँवरको एउटा खुट्टा आगोमा परी आधा खुट्टा जलेको र घरको आर्थिक स्थिति कमजोर भएकोले समयमा उपचार हुन नसकेर खुट्टाको औँला झरेको हुँदा हालसम्म त्यसको असरले गर्दा विद्यालय जानसम्म समस्या भएकोले कुँवरको उपचारमा ग्रुपले सहयोग गरेको छ ।
‘खुट्टा पनि बाङ्गिसकेको र डाक्टर हरुसङ्ग परामर्श लिँदा खुट्टाको तुरुन्तै सर्जरी गर्नुपर्ने सम्बन्धित डाक्टर हरुले सल्लाह दिए उपचार सम्भब भएता पनि आर्थिक नभएकै कारण पीडितले उपचार नपाएको बताउदै पीडित परिवारले हामीलाई सहयोग अपिल गरिदिन अनुरोध गर्नु भएको थियो ।’ पौडेलले भने ।

ग्रुपले २०७० सालमा स्थापना भई विभिन्न कार्यक्रम संघ सस्था खेलकुद र रेडियोसँग सहकार्य गर्दै दुःखी–पिडितलाई सहयोग गर्दै आएको छ ।