नवौँ कोरियाली भाषा परीक्षा जेठ अन्तिम साता

काठमाडौं– नवौँ कोरियाली भाषा परीक्षा आगामी जेठ अन्तिम साता सञ्चालन हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष नेपालका लागि करिब ७ हजार कोटा छुट्टयाएपछि आगामी जेठको अन्तिम साता परीक्षा सञ्चालन हुने भएको हो ।

इपिएस कोरिया शाखाका अनुसार कोरिया जान इच्छुकले फागुन महिनाको अन्तिममा परीक्षाको सूचना प्रकाशित भएपछि चैतको दोस्रो सातादेखि अनलाइन फारम भर्न पाउने छन् । भाषा परीक्षा दिन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको र कानुनले अयोग्य ठहर नगरेको व्यक्ति हुनुपर्ने छ ।शाखाको अनुरोधमा कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)ले पठाएको जानकारी अनुसार ५ हजार उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा २ हजारभन्दा बढी कामदार माग गर्ने गरी भाषा परीक्षको तयारी गर्न इपिएसलाई अनुरोध गरेको छ ।

कोरिया सरकारले विगत २ वर्षदेखि अन्य १५ राष्ट्रको तुलनामा नेपाली युवालाई नै आङ्खनो देशमा रोजगारी प्रदान गर्न थप इच्छा देखाउँदै पास गर्ने कोटा बढाउँदै लगेको इपिएसले जनाउने गरेको छ । कोरिया सरकारले १६ राष्ट्रबाट विदेशी कामदार माग गर्ने भए पनि कम्बोडियापछि नेपालबाट धेरै कामदार लैजाने गरेको छ । कोरियाले प्रायःजसो अघिल्ला वर्षहरूमा धेरै कामदार माग गरेलगत्तै अर्को वर्ष कम युवालाई मात्र पास गराउने गरी भाषा परीक्षाको कोटा निर्धारण गर्ने गरेको बताइन्छ ।

सन् २०१७ मा आठौँ भाषा परीक्षा उत्तीर्ण गरेका मध्ये २ हजार ५ सय ३५ भन्दा बढीको श्रम सम्झौता भई कोरिया जाने तयारीमा छन् । अन्य देशका कामदारको तुलनामा नेपालीको माग उच्च रहेको जनाउँदै नेपालमा छिटोछरितो परीक्षाको तयारी गर्न कोरियन पक्षले नेपालसँग अनुरोध गरेको छ । कोरियको श्रम बजारमा नेपाली कामदार मेहेनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियन पक्ष नेपाली कामदारको माग बढाउन सकारात्मक भएको जनाइएको छ ।

कोरिया जानका लागि लेबर कन्ट्र्याक आएका कामदारहरूलाई कोरिया पुग्नका लागि करिब १ लाख रूपैयाँ खर्च हुनेछ भने हाल कोरियामा न्यूनतम पारिश्रमिक १ लाख ४२ हजार रूपैयाँ रहेको छ ।नेपालबाट सन् २००८ देखि इपिएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । त्यहाँ ५० हजारभन्दा बढी युवा यही प्रणालीबाट भाषा पास गरेरै पुगिसकेका छन् ।