इलामको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ हुने

काठमाडौं । इलाम जिल्लाका विभिन्न दूरगम ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सामाग्री सहयोग गर्ने उद्धेश्यले दक्षिण कोरियामा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

सन् २०१४ मा कोरियामा रहेका इलामेलीहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाको आयोजनामा कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ हुने भएको हो ।

‘सूर्योदय‌ र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान’ भन्ने मूल नारा लिएर स्थापना भएको संस्थाले यसअघि विभिन्न समाजिक सेवामा सम्वद्ध कार्यहरु गर्दै आएको छ । इलामेली समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया तथा नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएता पनि यस्तो सांगितिक कार्यक्रम भने पहिलो पटक गर्न लागेको हुनाले दक्षिण कोरियावासी सम्पूर्णमा कार्यक्रम सफल पारिदिन आयोजकले अनुरोध गरेको छ।

उक्त कार्यक्रममा नेपालबाट राष्ट्रियस्तरमा ख्यातिप्राप्त लोकप्रिय कलाकारहरुसँग समझदारी भईसकेको र केहि दिनमा नै सवै कलाकारहरुको विवरणसहित थप सूचना एवं प्रचार–प्रसार पनि गरिने ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ कार्यक्रम आयोजनाका प्रचार विभाग प्रमूख सन्तोष राईले जानकारी दिए ।

गत जुन १८ तारिखमा सम्पन्न भएको नेपाल सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजित भेलामा कार्यक्रम आयोजना गर्ने विषयमा छलफल भइ पारित भएको हो ।