सर्लाही काण्ड : झोलामा पेस्तोल–दोहोरो मुठभेड कसरी ?

काठमाडौं– सांसदले मुठभेडका नाममा पहिले नै यातना दिएर राजनीतिक कार्यकर्ता कुमार पौडेलको हत्या गरिएको भनी आक्रोश व्यक्त गरेका छन् । विप्लव समूहको राजनीतिलाई निस्तेज तुल्याउने ढङ्गबाट वार्ता र संवाद छाडेर सरकारले किन मुठभेड रोज्यो भनी प्रश्न गर्दै उनीहरुले नियन्त्रण गर्ने नाममा यातना दिएर गोली हान्ने काम भएको भनी आक्रोश व्यक्त गरेका छन् ।

विप्लव समूहलाई संवादमा ल्याउन सुझाव दिँदै उनीहरूले मृतकको झोलामा भेटिएको बन्दुकले दोहोरो भिडन्तलाई पुष्टि गर्छ कि गर्दैन भनी प्रश्न गरे । राज्य असल र खराब दुवै मान्छेको अभिभावक भएकाले अपराधीलाई संविधान र कानूनको दायरामा ल्याएर कारवाही अघि बढाउन सुझाव दिँदै सांसदहरुले प्रहरीको प्रतिवेदनमा मुठभेड भए पनि जनताको प्रतिवेदनले त्यसलाई पुष्टि नगरेकाले सत्यतथ्य जानकारीका लागि छानविन समिति गठनको माग गरे ।

बैठकमा सांसदहरू डिला सङ्ग्रौला, रेखा शर्मा, जनार्दन शर्मा, दीलेन्द्रप्रसाद बडू, महेश्वरराज गहतराज, यशोदाकुमारी सुवेदी, लक्ष्मी चौधरी, झपट रावल, मीना पाण्डे, तीर्था गौतम, रामसहायप्रसाद यादवलगायतले गृहमन्त्रीसमक्ष घटनाबारे सत्यतथ्य जानकारी माग गरे ।

यसैबीच समितिले नेकपा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलेको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्य भएको घटनाको तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाई समितिसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।