युवाहरुलाई सहुलियत दरमा ऋण दिन श्रमिक बैंक स्थापना

बेझाडं– युवाहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराएर गाउँमै उद्यमी बनाउन पाल्पाको माथागढी गाउँपालिकामा रोजगार श्रमिक बैंक स्थापना हुने भएको छ ।

गाउँपालिकाले युवालाई लक्षित गरी पाँचाँै गाउँसभाबाट आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरणमा रोजगार श्रमिक बैंक स्थापना गर्ने लक्ष्य लिएको हो । श्रमिक बैंकबाट युवाहरुले गाउँमै उद्यमी तथा रोजगारीका लागि सहुलियत दरमा ऋण तथा सहयोग पाउनेछन् ।

गाउँमै बसेर व्यवसाय तथा उद्यम गर्न चाहने युवालाई सहुलियत दरमा ऋण प्रवाह गर्ने गरी गाउँपालिकाले रोजगार श्रमिक बैंक स्थापना गर्न लागेको अध्यक्ष सन्तोष थापा मगरले बताए । “गाउँपालिकाभित्र करीब एक हजार युवालाई सिटिइभिटीबाट तालीम दिई दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई गाउँपालिकाभित्रै पूर्वाधार निर्माणमा परिचालन गर्ने गरी अगाडि बढेका छौँ”, उनले भने ।

अहिलेको प्रविधि तथा गुणस्तरलाई ध्यान दिँदै नक्सा पास, घर निर्माणका लागि स्थानीय पाँच सय जना व्यक्तिलाई सिटिइभिटीबाट प्राविधिक तालीम दिई गाउँगाउँमा भूकम्प प्रतिरोधी नमूना घर निर्माण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको अध्यक्ष थापाले बताए । गाउँको रकम गाउँमै खर्च गरेर व्यक्तिलाई बीमासहितको रोजगार दिने गाउँपालिकाको लक्ष्य छ । शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा गाउँपालिकालाई नमूना बनाउने गरी योजनाका साथ अगाडि बढेको बताइएको छ ।

मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियानका साथ सबै स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा, निःशुल्क औषधि उपचार र बर्थिङ सेन्टर सञ्चालन गर्ने जनाएको छ । गाउँपालिकाले घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन अभियानकै रुपमा विभिन्न कार्यक्रम गरिरहेको छ । स्थानीयवासीको आयस्तर वृद्धि गराउन कृषिजन्य सामग्री, उन्नत जातका बीउबिजन वितरण कार्यलाई निरन्तर रुपमा अगाडि बढाउँदै जाने गाउँपालिकाले जनाएको छ ।