लिबियाली हवाई आक्रमणमा सात जना मोरक्कोका नागरिक मारिए

राबाट (रासस/सिन्ह्वा)– लिबियाको राजधानी त्रिपोलीको पूर्वी नगर ताजौरामा रहेको आप्रवासी केन्द्रमा भएको हवाई आक्रमणमा सात जना मोरक्कोका नागरिकको मृत्यु भएको छ ।

हवाई आक्रमणका समयमा त्यस केन्द्रमा १८ जना मोरोक्काली आप्रवासी रहेका थिए । मोरक्कोका विदेश मन्त्रीले शनिबार जारी गएको विज्ञप्तिमा हवाई आक्रमणबाट आठ जना घाइते भएका र अरू तीन जना बेपत्ता रहेको उल्लेख छ ।

विज्ञप्तिमा घाइते तथा मृत्यु भएका व्यक्तिको शव मोरक्को फिर्ता ल्याउन लिबियाली अधिकारीहरूसँग कुराकानी भइरहेको जनाइएको छ ।

कागजातविहीन अफ्रिकी र अरब मुलुकका नागरिकलाई सामुद्रिक मार्गबाट युरोप प्रवेश गर्ने लिबिया मुख्य मार्ग हो । युरोपेली युनियनको आर्थिक सहयोगमा यस्ता अवैध आप्रवासीलाई लिबियाको जलक्षेत्रबाट पक्राउ गरी अस्थायी शिविरमा राख्ने गरिएको छ ।

तजौरामा गत मङ्गलबार भएको हवाई आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु हुनुका साथै १३० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।