भूकम्पका कारण फिलिपिन्समा आठ जनाको मृत्यु

मनिला– फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजीकार्य जारी रहेको पनि जनाएका छन् ।

बिहानको समयमा भूकम्प आएको हुनाले धेरै मानिस घरभित्रै रहेको र धेरै घर भत्किएको बताइएको छ ।

टापु नै टापु रहेका बातान्स प्रान्तमा झण्डै चार घण्टाको अन्तरलमा ५.४ र ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । पहिलो भूकम्प स्थानीय समयानुसार बिहान ४.१५ मा आएको थियो ।

भूकम्पपछि सुनामी आउन सक्ने संभावना नदेखिएको अधिकारीले बताएका छन् । खोजी तथा उद्धारलाई तीव्रता दिइएको छ ।

धेरै भूकम्प आउने देशमा पर्ने फिलिपिन्समा अहिलेको भूकम्पमा परी अहिलेसम्म झण्डै ६० जना घाइते भेटिएको मेयर राउल डे सागोनले जानकारी दिए । एजेन्सी