खोटाङमा लोक सेवा परिक्षाको प्रश्नपत्र च्यात्ने चार जना पक्राउ, समाजवादीले निकाल्यो विज्ञप्ति

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहको कर्मचारीका लागि लिएको परिक्षाका क्रममा खोटाङमा प्रश्नपत्र च्यात्ने आदीवासी जनजाती महासंघका चार जना कार्यकर्तालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै समाजवादी पार्टी नेपाल खोटाङले जिल्लामा पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । हाल चलिरहेको लोकसेवा आयोगको असमावेशी विज्ञापन खारेजीको माग गर्दै चलिरहेको शान्ति पूर्ण आन्दोलनमा एक्यवद्धता जनाई रहेको समाजवादी पार्टीले राज्यले दमनको नीति लिएकोमा विरोध जनाएको हो ।

आदीवासी जनजाति, दलित, महिला, अपाङग, मधेसी, मुस्लिमलगायतको अधिकारलाई कटौती गर्दै संविधानको भावना र मर्म विपरित लोकसेवा आयोगले खुलाएको विज्ञापनको विरोधमा एक नम्बर प्रदेश बन्दको आव्हान गरिएको थियो । बन्द गराउने क्रममा दिक्तेल बजारबाट आदीवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई तत्काल रिहाई गर्न पार्टीले प्रेषित विज्ञप्तीमा लेखिएको छ ।

बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सञ्चालन गरेको छ । खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा केही थान प्रश्नपत्रहरु उनीहरूले च्यातेका थिए ।

आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु, सहसचिव एलबीमगर, दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय तहमा प्रशासन समूहतर्फ र लेखा समूहतर्फ अधिकृत र सहायक पदका लागि खोटाङबाट २१४ जनाको दरबन्दस्का लागि परीक्षा भइरहेको छ भने धनकुटामा ४९१ र इलाममा २३० गरी ९३५ जनाका लागि शनिबार परीक्षा भइरहेको छ ।