ज्यान जोखिममा राखेर डुङ्गा चलाएको आम्दानीले परिवार पाल्नुपरेपछि…

लमही– दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउँथे । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउँछन् ।

उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गरेका छन् । उनका बुबाले करीब २४/२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आएका थिए ।

पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्ने गरेका छ । डुङ्गामा तारेवाफत उनले प्रतिव्यक्ति रु २० लिने गरेको बताए ।

कक्षा १० सम्मको पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उनले पुख्र्यौली पेशा शुरु गरेको बताए ।

डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् विद्यार्थी

राप्ती नदीका विभिन्न ठाउँमा पुल नहुँदा विद्यार्थीहरु समेत जोखिम यात्रा गर्न बाध्य छन् । दाङको राजपुर गाउँपालिका–७ हाँडवासदेखि लमही नगरपालिका–९ अमिलियाबीचमापर्ने राप्ती नदीमा पुल नहुँदा विद्यार्थी जोखिम यात्रा गर्न बाध्य छन् ।

दैनिक राजपुरबाट पढ्नका लागि जाने विद्यार्थी जोखिम मोलेर डुङ्गाको यात्रा गर्ने गर्दछन् । “लामो समय भयो जोखिम मोलेर यात्रा गर्न बाध्य छौंँ”, स्थानीयवासी अर्जुन योगीले भने, “यो समस्या समाधानका लागि हामीलाई झोलुङ्गे पुल आवश्यक छ ।”

विद्यार्थी वारपार गर्दा धेरै पटक डुङ्गा पल्टिने गरेकोसमेत उनले बताए । उनले भने,“बिहान विद्यालय गएका र बेलुकी विद्यालयबाट सकुशल छोराछोरी फर्कने हुन् कि होइनन् भन्ने अभिभावकलाई पिरोल्ने गर्दछ ।”

दैनिक ५० जना विद्यार्थीले त्यहीँ डुङ्गाबाट वारपार गर्ने गरेको स्थानीयवासी सञ्जय योगीले बताए । त्यस क्षेत्रका पाँच सय घरपरिवार अहिले त्यही डुङ्गाबाट वारपार गर्ने गर्छन् । २० मिनेटमा वारपार गर्न सकिने भएकाले त्यहाँका बासिन्दाले डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।

झोलङ्गे पुल भएको भए झनै सहज हुने स्थानीयवासी करवीर योगीले बताए । झोलुङ्गे पुल चार किलोमिटर पूर्व गोठुवा घाटमा छ भने पश्चिम बाँकेको खोकरीघाट पाँच किलोमिटर टाढा छ । त्यहाँ पैदलजान एक घण्टा लाग्ने भएकाले त्यहाँका बासिन्दाले छिटो आवतजावत गर्न डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।