तराईमा शीतलहरको कारण जनजीवन कष्टकर

काठमाडौं । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन् ।

पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ । केही दिनदेखि धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावित भइरहेको छ ।

‘‘हुस्सु र कुहिरोका कारण भिजिविलिटी नहुँदा काठमाडौं–धनगढीको हवाई सेवा प्रभावित भइरहेको छ,’’ विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले भने, ‘‘विमानस्थलबाट सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने हवाईसेवा पनि हुनसकेको छैन ।’’ लामो अवधिसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतको बाली नष्ट हुने समस्या पनि किसानले झेल्दै आएका छन् ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने उहाँको भनाइ छ । रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रणबाट बाली जोगाउन सकिने उनले बताए ।

डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पछिल्ला दशकमा घट्दै गएको छ । ढुसीको सङ्क्रमण तोरीबालीमा छिटो बढी असर पु¥याउने गरेको बताइएको छ । धनगढी उपमहानगरपालिका—१३ का किसान गुलाब रानाथारुले बर्सेनि हुने डढुवा रोगकै समस्याका कारण आफूले तोरी खेती गर्न छाडेको बताए । ‘‘पहिले आफ्नो पूरै खेतमा तोरी लगाथ्याँ’’, उहाँले भने, ‘‘त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नुप¥र्यो ।’’

‘‘पहिले गाउँमा यतिबेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गथ्र्यो’’, ६५ वर्षीय रानाथारुले भने, ‘‘आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौंठो समय आएको अनुभव भएको छ ।’’ ढुसी रोगको समस्या बढ्दा तोरीबालीको विकल्पमा अधिकांश किसान धान र गहुँखेती गरेर चित्त बुझाइरहेका छन् । तर छाडा छाडिएका पशु चौपायाले बाली नष्ट गर्दा यो बाली जोगाउन पनि किसानले हैरानी खेप्नुपरेको छ ।