मध्य रातमा नेपालगन्जका आधा दर्जन पसलहरुमा आगोलागी, करोडौं क्षति

काठमाडौं । नेपालगन्जको बीपी चोकमा रहेका आधा दर्जन पसलहरुमा हिजो साँझ आगोलागीबाट जलेका छन् । हिजो राति लागेको आगोका कारण स्थानीय फर्निचर, किताब पसल, फलफूल पसल आगो लागेर जलेका छन् । घटनामा एक करोडभन्दा बढि क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गएराति नेपालगञ्जको बीपीचोकमा रहेको जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचरसहितका पुस्तक पसल तथा फलफूल पसल आगो लागेर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलागीबाट फर्निचर पसल, सिरक डस्ना पसलहरुका कारण आगो निभाउन कठिन भएको थियो ।

मध्यरातमा नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलको सहयोगमा बल्ल आगो नियन्त्रणमा आएको थियो ।नेपालगन्जको बीपी चोकमा यसअघि पनि आगोलागी भएको थियो ।

उतिबेला पनि एक दर्जनभन्दा बढि फर्निचर पसलहरु जलेर खरानी भएका थिए । फर्निचर उद्योगहरुका कारण नेपालगन्जको बीपी चोकमा पटक पटक आगोलागी हुँदै आएको छ । यसअघि गत साउन २३ गते पनि आगो लागेको थियो ।

आगोलागीबाट भएको क्षतिको बीमा दावी पर्छ कि पर्दैन यकिन हुन सकेको छैन । स्थानीय हिमालय जनरल इन्स्योरेन्स शाखा, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स शाखाले आफ्नोमा बीमा दावी नपर्ने जनाएका छन् ।