प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री

नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दूरी पनि घटाएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

यता कान्तिपुर दैनिकले भने नेकपाका अध्यक्षद्वयबीच वार्ता धेरै भए पनि विश्वास भने थोरै रहेको समाचार प्रकाशित गरेको छ । दुई अध्यक्षबीच पटक–पटक घन्टौँ वार्ता हुँदा पनि धेरै विषयमा कुरा मिल्न सकेको छैन ।

पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक र द्वन्द्वकालीन न्यायसम्बन्धी आयोगहरुमा पदाधिकारी नियुक्तिका विषयमा उनीहरुबीच सहमति नजुटेको समचार प्रकाशित गरेको छ । यति धेरै वार्ता भइरहँदा पनि उनीहरुबीच बेला–बेला सार्वजनिकरुपमै विवाद र असन्तुष्टि देखिने गरेका छन् ।