काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
तत्कालीन अवस्थामा आकस्मिकबाहेक अप्रेसन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेक अप्रेसन नगर्दा संक्रमित बिरामीलाई आईसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।
कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आईसीयू, भेन्टिलेटर र अक्सिजनलगायत सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए । यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे ।
यसैगरी अस्पतालहरुले विभिन्न होटेलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटेलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि त्यहाँ संक्रमितबाहेक अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।