सलमानले सुरु गरे पठानको छायांकन

मुम्बई । बलिउड अभिनेता सलमान खानले शाहरुख खानको चलचित्र ‘पठान’का लागि छायांकन सुरु गरेका छन् ।

कोरोना महामारी अन्त्य नभएसम्म चलचित्रको छायांकनमा नजाने सोच भए पनि सलमान शाहरुखको चलचित्रका लागि छायांकनमा जान तयार भएका हुन् ।

सलमानका नजिकका एकजना निर्माता साथीलाई उद्धत गर्दै बलिउड हंगामाले लेखेको छ, “कोरोनाको डरका बीच सलमान छायांकनको विरुद्धमा थिए । तर सलमान आफ्नो परिवारलाई धेरै माया गर्छन् । शाहरुख खान पनि उनको परिवारका सदस्यजस्तै छन् ।”

यसअघि सलमान उनको ज्वाइँका लागि चलचित्र ‘अन्तिम’ को छायांकनमा गएका थिए । यद्यपि उनी आफ्नै चलचित्रको छायांकन भने स्थिति सामान्य भएपछि मात्रै गर्ने सोचमा भएको पनि उक्त स्रोतले बताएको छ ।

‘पठान’मा सलमानको केमियो भूमिका मात्रै छ । उनी टाइगरको भूमिकामा पठानमा देखिँदै छन् । कोरोना संक्रमणलाई ध्यानमा राख्दै सलमानले छायांकन सेटमा भिजिटर्सलाई प्रवेश निषेध गरेका छन् ।