कसैले प्रधानमन्त्रीको फूर्ती लगाउँछ भने त्यसको कुनै काम छैन : नेता नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी ओलीले फालेर नफालिने नेता रहेको दाबी गरेका छन् ।

आज काठमाडौँ जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओ‌लीसँग मिल्ने कुनै अवस्था नरहेको पनि दाबी गरे ।

नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका नेता नेपालले आफ्नो मूल पार्टी नेकपा एमाले नै रहेको बताए ।

उनले भने, ‘कानुनले नदिए विकल्प खोजौँला। विचार मिल्छ। मूल पार्टी यही हो । केपी ओलीले पार्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’

उनले एमालेका आफूभन्दा तलका सबै नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको पनि बताए।

प्रधानमन्त्रीसमेत रहेका ओलीलाई प्रश्न गर्दै नेता नेपालले भने, ‘केपी ओलीले फालेर फालिने मान्छे हौँ ? केपी ओलीले ल्याएर आएका हौँ ? कसैले प्रधानमन्त्रीको फूर्ती लगाउँछ भने त्यसको कुनै काम छैन।’

नेता नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताएका छन्।  उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’