सरकारमा बस्नुको औचित्य छैनः पूर्वप्रम डा भट्टराई

गोरखा । समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले डेढ वर्षको अवधिमा संविधान संशोधनमा चासो नदेखाएकाले सरकारमा बस्नुको औचित्य नरहेको बताएका छन् ।

बिहीबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँग संक्षिप्त प्रतित्रिया दिँदै आफ्नो पार्टी सत्ताको साझेदार नरहेको बताए । छिट्टै केन्द्रीय समिति बैठक बसी सरकारमा बस्ने र नबस्ने उपयुक्त निर्णय लिने उनको भनाइ छ । ‘संविधान संशोधनका लागि दुई तिहाइ बहुमत पुर्‍याउन सरकारलाई साथ दिएका हौँ,’ उनले भने ।

सर्तसहित सरकारमा गएकाले आफ्नो पार्टीलाई सरकारको अंगको रुपमा हेर्नु उपयुक्त नरहेको उनले दाबी गरे । ‘संविधान संशोधनमा सरकारले चासो देखाएन,’ उनले भने, ‘प्रधानमन्त्री संविधान संशोधनको कुरा दिनदिनै गाउने गीत जस्तो बनेको छ भनेर ब्यङ्गय गर्दै उडाउनुहुन्छ, यो सही दृष्टिकोण होइन ।’ परिस्थितिअनुरुप सरकारबाट निक्लिएर जनताको पक्षमा जनमत तयार गर्नेतिर अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए ।
फरक प्रसंगमा भट्टराईले हिउँदे अधिवेशन अगावै सभामुखको निर्वाचन हुने पनि बताए । संविधानअनुसार अब फरक पार्टीको सभामुख र उपसभामुख हुनुपर्ने उनको तर्क छ । ‘मंसिरसम्म सभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ,’ उनले भने,‘अहिलेसम्म एउटै पार्टीको सभामुख र उपसभामुख थिए, अब संविधानले भनेअनुसार सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनुपर्ने व्यवस्थाअनुसार अघि बढ्नुपर्छ ।’