नाइट पार्टीमा जाने खेलाडीलाई साग खेल्न नदिने एन्फा अध्यक्ष छिरिङ दावी

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्याम्पबाट भागेर नाइट पार्टीमा गएका खेलाडीलाई दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि सहभागिता नगराइने बताएका छन् ।

कुवेतविरुद्धको खेल खेल्न भुटान जाने दिनको अघिल्लो रात यू–२३ टिमका डिफेन्डर दिनेश राजवंशी, मिडफिल्डर सन्तोष तामाङ र अञ्जन विष्ट तथा फरवार्ड विमल घर्ति मगर क्याम्पबाट भागेर ठमेल पुगेका थिए । त्यो थाहा पाएपछि उनीहरुलाई बर्खास्त गरिएको थियो ।

सन्तोष बाहेक अरु तीन जना खेलाडी साग खेल्ने यू–२३ टिममा समावेश थिए । उनीहरुलाई अब सागमा समावेश नगरिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

नेपाल–कुवेत खेल हेर्न भुटान गएका अध्यक्ष शेर्पा आज टिमसँगै नेपाल फर्किएका छन् । फर्किए लगत्तै शेर्पा दशरथ रंगशालाको निर्माण प्रगतिको निरिक्षणमा त्रिपूरेश्वर पुगेका थिए । रंगशालामा नेप्लेजसँग कुरा गर्दै अध्यक्ष शेर्पाले भने,‘साग कै क्याम्पबाट भागेर पार्टीमा जाने खेलाडीलाई साग खेल्न दिन मिल्दैन ।’

उनीहरुमाथि केही लामो कारवाही हुने संकेत अध्यक्ष शेर्पाले दिए । अहिले यो घटना अनुसन्धानको क्रममा छ । अनुसन्धानको प्रतिवेदन आएपछि एन्फाको बैठकले थप कारवाही सुनाउनेछ ।