राष्ट्र बैंक डेपुटी गभर्नर सिवाकोटीको अकुत सम्पत्ति !

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसँग अकुत सम्पत्ति रहेको विवरण फेला परेको छ ।

दुई छोरीलाई अमेरिकामा खर्च गरी पठाएका सिवाकोटीले उनीहरूसहितका नाममा सम्पत्ति रहेको झूठा विवरण तयार पारी सम्पत्ती शुद्धिकरण विभागलाई पठाएका छन् तर त्यसमा पनि कतिपय स्रोत खुलाइएका छैनन् । जुन विवरण राष्ट्र बैंकमै पनि सुरक्षित छ ।

गभर्नरको दौडका लागि तयार रहेका सिवाकोटीले सम्पत्ति विवरणमा एक मोटरसाइकल र पत्नी कमला ओझाका नाममा एक स्कुटर देखाएका छन् । स्वआर्जन र कर्मचारी सुविधाका कतिपय आर्थिक विवरण देखाए पनि उनले आफ्ना दुई छोरीलाई अमेरिका पठाएको स्रोत, त्यहाँ पठाएको खर्चको आम्दानीका बारेमा केही पनि खुलाएका छैनन् ।

उनका दुई छोरी सलुजा र समिक्षा सिवाकोटी अमेरिकामा छन् । दुई छोरीका नाममा पनि बैंक खातामा रकम रहेको जसलाई सिवाकोटीले पत्नी ओझाको तलबभत्ता सुविधाको विवरणमा राखेका छन् ।

त्यतिमात्र होइन, उनले आफ्नो तलब भत्ता सुविधाको रकम भनी माछापुच्छ्र«े बैंक, नबिल बैंक, सिद्धार्थ, कृषि विकास बैंकलगायतमा खाता रहेको विवरण प्रस्तुत गरेका छन् । जुन उनको आर्थिक हैसियत, रवाफ र दैनिकी सञ्चालनभन्दा निक्कै कम देखिन्छ ।

तलबभत्ता, बैंक कर्जालगायतका विभिन्न शीर्षक राखी एक करोड भन्दा बढीको शेयर लगानी विभिन्न वित्तिय संस्था, हाइड्रोलगायतमा रहेको उनको विवरणमा उल्लेख छ ।

कतिपय रकम स्वआर्जन शीर्षकमा राखिएका छन् । तर केबाट कसरी आर्जन गरियो भन्ने कुनै खुलासा गरिएको छैन । उनले बुझाएको सम्पत्ति विवरणमा नै कतिपय आयआर्जनको शीर्षक नखुलाउनु, स्वआर्जन लेखिनु शंकास्पद रहेको छ ।

ग्लोबल आईएमई बैंकबाट २७ लाख भन्दा बढी रकम ऋण लिएको उल्लेख गरेका उनले सो रकम के का लागि लिएको भन्ने विवरण उल्लेख गरेका छैनन् । बरु, २५ लाख भन्दा बढी रकम विभिन्न साथीभाईलाई सापटी दिलएको विवरण पेस गरेका छन् । यसले के शंका स्थापित गर्दछ भने, बैंकको ऋण लिएर कसैले पनि सापट रकम दिँदैन । दिएको खण्डमा चर्को ब्याजदर ९अवैध० मा दिएको आशंका गर्ने ठाउँ दिन्छ ।

सिवाकोटी आगामी गभर्नर बन्नका लागि सत्तारुढ पार्टीको छायाँमा सक्रिय छन् । सञ्चारमन्त्री गोकुल बास्कोटा उनका साथी भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उनले लविङ थालेको उच्च स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईका भान्जा पर्ने सिवाकोटीले आफ्ना ज्वाँई पर्ने लक्ष्मी निरौलालाई आगामी डेपुटी गभर्नर बनाउने लविङ पनि गरेको उच्च स्रोतले जनाएको छ ।

विभागीय जिम्मेवारीमा नै नपर्ने, सामूहिक निर्णयका आधारमा हुने कतिपय विषयको झूठा विवरणमा बरिष्ठ डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सम्पत्ति शुद्धिकरणले पत्र काटेपछि उनीमाथि छानबिन गर्न राष्ट्र बैंकले समिति गठन गरेपछि सिवाकोटी गभर्नरको दौडका लागि शक्ति केन्द्रमा छन् ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने छानबिन समितिको समयसीमा रहेको छ । समितिले छानबिन गर्नुपूर्व नै विवादीत बनेको छ । समितिको काममा चित्त नबुझेको भन्दै त्यसका एक सदस्य रामजी रेग्मीले राजीनामा दिइसकेका छन् । स्रोतका अनुसार दबाब र नियतका आधारमा छानबिन गर्ने र प्रतिवेदन तयार पार्न नसकिने भन्दै रेग्मीले राजीनामा दिएका हुन् ।

राष्ट्र बैंक सञ्चालक समितिले श्रीराम पौडेलको संयोजकत्वमा रेग्मीसहित सुवोधराज कर्णको तीन सदस्यीय समिति गठन गरेको थियो ।