लगानी आकर्षण बढ्यो

 

काठमाडौं । लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ ।

चालू आर्थिक वर्ष २०७६र०७७ को पहिलो चार महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब १९ करोड रुपियाँ लगानीका १३ हजार ११६ उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्षको सोही अवधिमा एक खर्ब नौ अर्ब ४३ करोड रुपियाँ लगानी थपिएको थियो । यसअनुसार चार महिनामा गत वर्षभन्दा ३० अर्ब रुपियाँ बढी लगानी भएको हो ।

गत चौमासिकमा औद्योगिक क्षेत्रमा विदेशी लगानी पनि उच्चदरले बढेको देखिएको छ । गत वर्ष पहिलो चौमासिकमा विभागले आठ अर्ब ४८ करोड रुपियाँको लगानी स्वीकृति दिइएकामा यो वर्ष करिब दोब्बर हुँदै १५ अर्ब ७७ करोड पुगेको देखिएको छ ।

लगानी बोर्डले गत आर्थिक वर्षको पहिलो चार महिनामा ३८ अर्ब ६४ करोडको स्वीकृति दिएको थियो तर अहिले यो परिमाण बढेर ६६ अर्ब ८० करोड पुगेको हो । यो अवधिमा १०४ उद्योगमा वैदेशिक लगानीका लागि स्वीकृति दिइएको थियो ।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार उद्योग दर्ता तथा लगानीमा उल्लेख्य प्रगति देखिनुमा राजनीतिक स्थिरता र त्यसले लगानीकर्तामा बढाएको मनोबल पहिलो कारण हो ।

आजको गोरखापत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।