आजबाट संसद् अधिवेशन सुरु, सभामुख निर्वाचनको मिति नतोकिने !

 

काठमाडौं । संसद्को उपल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।

अपराह्न ४ बजेबाट दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको दुईवटा सभाहलमा बस्दैछ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकले सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नुपर्ने भए पनि त्यसको सम्भावना भने देखिएको छैन ।

सभामुखको उम्मेदवारका विषयमा नेकपाभित्र टुंगो लाग्न नसकेपछि प्रतिनिधि सभाको अर्को बैठक एक सातापछि धकेलिने देखिएको छ ।

संसद् सचिवालय स्रोतले भन्यो, ‘शुक्रबारसम्म थप केही प्रगति नभएमा संसद्को अर्को बैठक पुस ९ गते बस्ने सम्भावना छ, त्यो समयसम्म कुनै सहमति भएमा त्यो बैठकले मात्रै सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नेछ ।’

पूर्वसभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेका कारण सभामुख पद असोजदेखि रिक्त छ।

प्रतिनिधि सभाको बैठकको कार्यसूची तय गर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार १ बजे कार्य व्यवस्था परामर्श समितिका सदस्यसँग छलफल गर्ने भएकी छन् ।

उपसभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन नमिल्ने भएपछि कार्य व्यवस्था परामर्श समितिका सदस्यसँगको बैठक बस्ने भनिएको छ ।