गुण्डाराजको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैनः अध्यक्ष श्रेष्ठ

इलाम (पास)– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले गुण्डाराजको अन्त्य नभए सम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताएका छन् ।

निर्माण व्यवसायी संघ इलामको साधारण सभा तथा आठौं जिल्ला अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुण्डाहरुको आतंकका कारण व्यवसायीहरुले ढुक्क भएर व्यवसाय संचालन गर्ने वातावरण नरहेको बताए । ‘गुण्डाहरुबाट अझै पनि चन्दाका लागि धम्की आउने क्रम जारी छ, यस्तो अवस्थामा व्यवसायीहरुले कसरी व्यवसाय संचालन गर्ने ?’ अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

देशभरका निर्माण व्यवसायी र उनीहरुका अरबौ मूल्य बराबरका निर्माण सामाग्रीको सुरक्षाका लागि सरकारले भरपर्दो व्यवस्था मिलाउनुपर्ने उनले बताए । विगत केही साता देखि निर्माण सामाग्रीहरुमा निरन्तर मूल्यवृद्धि भइरहेका कारण व्यवसायीहरु थप मारमा परेको उनको भनाइ थियो । अधिवेशनलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष तेजबहादुर कुरुम्बाङ, महासचिव रामशरण देउजा, प्रवक्ता विष्णु बुढाथोकी, निर्माण व्यवसायी संघ इलामका अध्यक्ष राजकुमार भक्तराज लगायतका वक्ताहरुले व्यवसायीहरुका समस्या समाधान गर्न सरकारले ठोस पहल नगरेको बताए ।