आज नेप्से ४३ अंकले बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)( परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्सेमा ४३ अंकको उत्साहजनक वृद्धि आएसँगै परिसूचक २६ सय ९२ अंकमा पुगेको छ ।

यसक्रममा आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अन्तिमसम्मै बढेर बन्द भएको हो । यससँगै यो साताको पाँच कारोबार दिनमा तीन कारोबार दिन बढेको छ ।

आइतवार ६० अंकले बढेको नेप्सेमा सोमबार ३२ र मंगलबार ६३ अंकको वृद्धि आएको थियो । हिजो बुधबार लगानीकर्ताले नाफा बुक गर्दा नेप्से परिसूचक ३० अंकले खुम्चिएको थियो । तीन दिनको वृद्धिपछि नाफा बुक गर्नतर्फ लागेका लगानीकर्ता आजै बजारमा फर्किँदा नेप्से ४३ अंकले बढेको हो । योसहित साताभरमा नेप्से परिसूचक १६८ अंकले बढेको छ ।

खासगरी, नेपाल राष्ट्र बैंकले लिएको दुई वटा नीतिले नेप्सेमा सकारात्मक सुधार आइरहेको छ । केन्द्रीय बैंकले विदेशबाट हुने अनियन्त्रित आयात नियन्त्रण गर्ने र मुद्रा विदेशिनबाट जोगाउन नयाँ व्यवस्था गरेको थियो । यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपका रूपमा गणना गर्न वाणिज्य बैंकहरूलाई अनुमति दिएसँगै नेप्से उकालो लागेको हो । यी दुई वटा नीतिले तरलतामा सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।