४७ वर्षको सहयात्रापछि ईयूबाट ब्रिटेन अलग

एजेन्सी, लन्डन । युरोपियन युनियन (ईयू)बाट बाहिरिने ब्रिटेनको लामो कसरतले शुक्रबार सार्थकता पाउँदैछ । ईयू संसदले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरिसकेको छ । यसअन्तर्गत ३१ जनवरीमा स्थानीय समयअनुसार राति ११ बजे युरोपियन सङ्घबाट ब्रिटेन अलग हुँदैछ ।

यद्यपि सन् २०२० को अन्त्यसम्ममा ईयूको आर्थिक व्यवस्थामा रहिरहने छ । तर नीतिगत मामिलामा भने ब्रिटेनले हस्तक्षेप गर्ने छैन । अर्थात् ब्रिटेन ईयूको सदस्य रहने छैन ।

४ वर्षसम्म चलेको खिचातानीमा ईयू संसदले ४९ का विरुद्ध ६२१ मतले ब्रेक्जिट सम्झौता अनुमोदन गरेको हो । यो सम्झौतालाई ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले २०१९ को अन्त्यमा ईयूका २७ नेताहरुका साथ वार्ता गरेर अन्तिम रूप दिएका थिए ।

ब्रिटेनले जुन २०१६ मा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिटलाई मन्जुरी दिएको थियो ।