सांसदको यस्तो प्रस्तावः ‘कोरोना पीडित नेपालीलाई राख्न संसद भवन खाली गरौं’

काठमाडौं । चीनका कोरोना भाइरस पीडितलाई संसद भवन खाली गरेर राख्न एक सांसदले प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रदीप यादवले संसद चीनमा रहेका नेपालीहरुलाई ल्याएर राख्न र पाल टाँगेर संसद चलाउन प्रस्ताव गरेका हुन् ।

उनले सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाइरहेको भन्दै आएको तर काठमाडौंमै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको भन्दै यदि त्यसो होइन भने त्यसलाई खाली गरेर उनीहरुलाई त्यहाँ ल्याएर राखेर जीवन बचाउन आग्रह गरे ।

आजको बैठकमा अधिकांश सदस्यहरुले कोरोना भाइरस प्रकोपका सम्बन्धमा धारणा राख्दै सरकारले छिटो चीनमा रहेका नेपालीहरुको उद्दारको गर्नुपर्ने बताएका थिए ।

शून्य समयमा उठेको प्रश्नको उत्तर दिँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिरामीहरुबाट अरु संक्रमित नहुन् भन्नको लागि टाढाको ठाउँ खोज्नुपर्ने भन्दै त्यही कारण ठाउँ नपाएको बताए ।

यस्तो अवस्थामा संसद भवनमा ल्याएर राखौं भन्ने प्रस्ताव गर्नु स्वतन्त्रताको उपयोग बाहेक केही नभएको उनले दाबी गरे ।

मंगलबारको बैठकमा छाउपडी गोठ भत्काइएकोमा केही सांसदहरुले सरकारको समर्थन गर्दै त्यस्तो कदमको विरोध हुनु लज्जास्पद भएको समेत बताए ।

काँग्रेस सांसदहरुले अछाममा आफ्नो पार्टीको तर्फबाट विजयी भएका वडाध्यक्षको हत्या भएको भन्दै छानबिन गर्न सरकारसँग माग गरे ।