भुटानमा तीनपटकसम्म परीक्षण गर्दा नेगेटिभ देखिएको कोरोना भाइरस चौथो पटकमा पोजेटिभ

काठमाडौं– कोरोनाको भाईरस एक पटक परीक्षण गर्दैमा पोजेटिभ भएन भनेर अब ढुक्क हुने अवस्था रहेन । भुटानमा फागुन २२ गते ७६ वर्षीय अमेरिकी नागरिकपछि उनकी ५९ वर्षीया श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

भुटानका प्रधानमन्त्री लोटे छिरिङले ती महिला देशमै कोरोना संक्रमित दोस्रो व्यक्ति भएको पुष्टि गरेका आउटलुकले लेखेको छ। क्वारेन्टाइन अवधिमा उनको तीन पटक परीक्षण गरिए पनि कोरोना संक्रमण देखिएन। १५ दिन क्वारेन्टाइन सकेर चौथो पटक परीक्षण गर्दा बल्ल शुक्रबार उनमा कोरोना भएको देखिएको हो।

ती अमेरिकी दम्पत्ती फागुन १९ मा भारतको गुवाहटीबाट भुटान पुगेका थिए। उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका स्थानीय गाइड र चालकले पनि शुक्रबार क्वारेन्टाइन अवधि पूरा गरे। उनीहरूमा कोरोना संक्रमण पाइएको छैन। परीक्षण गरिएका अरू ४० जनामा पनि संक्रमण देखिएको छैन।

भुटानको यो घटनासँगै कोरोना संक्रमण र परीक्षणबारे ध्यान दिनुपर्ने देखिएको भुटानी अखबार द भुटानिजका सम्पादक तेन्जिङ लम्साङले बताएका छन्। उनले ट्विटमार्फत् ती महिलाको परीक्षण र संक्रमणबारे जानकारी दिँदै भनेका छन्( भुटानको यो घटनाबाट सिक्न जरूरी छ।

उनले भनेका छन्, ‘भुटान आएको १९ औं दिनमा मात्र ती महिलालाई कोरोना भएको देखियो। जबकी उनीहरू दुवै जना असाममा कोरोना संक्रमितसँग सम्पर्कमा आएको २८ दिन भएको छ। पुरुषमा १९ दिनअघि नै संक्रमण देखिए पनि महिलामा बल्ल देखिएको छ। यो चिन्ताजनक विषय हो।’

भुटानले ती अमेरिकीबारे संकलन गरेका सूचना र तत्कालै चालेका कदमबाट कोरोनालाई सरकारले कति गम्भीरताका साथ लिनुपर्छ र सावधानी अपनाउनुपर्छ भन्ने देखिन्छ।

यो दम्पती गुवाहटीबाट पारो आउँदा चढेको विमानमा १० जना मात्र यात्रु थिए, बाँकी ८ जना भारतीय नागरिक हुन्। त्यही दिन दिउँसो राजधानी थिम्पु पुगेपछि पेट ढुस्स भएर अप्ठ्यारो भएको भन्दै उनी एक अस्पतालको ओपिडीमा जँचाउन गएका थिए। रक्तचापको समस्या भएका नियमित त्यसको औषधि खाइरहेका थिए।