हिउँले थलियो उपल्लो डोल्पाको विकास

जाजरकोट– पटक–पटक हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम पर सर्दै गएको छ । चैतदेखि विकास निर्माणको काम शुरु गर्न ठिक्क पारिए पनि उपल्लो डोल्पावासी पुनः चैत २ गते भारी हिमपात प¥यो । हिमपातकै कारण विकास निर्माणको काम एक महिनापछि सरेको छ । शे–फोकसुण्डो, छार्का ताङसोङ, डोल्पोबुद्ध गाउँपालिकामा अझै विकास निर्माणका काम शुरु हुन नसकेको हो । वैशाखबाट मात्र विकास निर्माण काम शुरु हुने शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“हिमपात भएकाले हामी काठमाडौँमा छौँ, कसरी बस्नु असाध्य चिसो छ”, उनले भने, “गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलयायतका सबै जनप्रतिनिधि यतै छौँ, हिउँ पग्लिएपछि गाउँपालिकामा गएर विकासका काम शुरु गछौँ ।” हिमपात नहुने कर्णाली प्रदेशका अन्य जिल्लामा ७० प्रतिशत विकास निर्माणका काम भइसकेको समयमा उपल्लो डोल्पामा भने शुरु नै हुनसकेको छैन ।

असार मसान्तसम्म तोकिएका सबै विकासका आयोजना निर्माण गर्न चुनौती हुने देखिएको छ । शुरु नै नभएको विकास निर्माणको काम वैशाख शुरु हुनेबित्तिकै उपल्लो डोल्पाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि पाटनमा जाने गर्दछन् । घरमा ताला लगाएर यार्सागुम्बा सङ्कलन गर्न जाने यहाँ स्थानीयवासी विकास निर्माणको काममा समय दिन नपाउने समस्या छ । तातो मौसम शुरु भएपछि आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पा जाने यहाँका सर्वसाधारण यसपटक चैतमा समेत हिमपात हुँदा थप मर्कामा परेका हुन् ।

हिमपातकै बीच ‘एक घर, एक व्यवसाय’ कार्यक्रम

शे–फोक्सुण्डो गाउँपालिकाले हिमपातकै बीचमा ‘एक घर, एक व्यवसाय’ कार्यक्रम शुरु गरेको छ । व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने भन्दै गाउँपालिकाले प्रस्ताव माग गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । अहिले १८ वर्षदेखि माथि ५० वर्षभन्दा तलका स्थानीयवासीलाई व्यवसाय गर्नका लागि प्रस्ताव माग गरिएको उनले बताए । कुनै पनि घर व्यवसाय गर्नबाट बञ्चित नहोस् भनी यो कार्ययोजना अगाडि ल्याइएको छ ।