‘लकडाउन’मा समस्या परे ११८०, ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा फोन गर्नुहोस्

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि राजधानी काठमाडौं ‘सेल्फ क्वारेन्टाइन’मा छ । सर्वसाधारण घरबाहिर निस्किएका छैनन् । अत्यावश्यक काममा बाहेक सवारीसाधन गुडेका छैनन् । तर, यस्तो वेला कुनै समस्या परे कसलाई, कसरी सम्पर्क गर्ने ? भन्ने जनकारी नहुन सक्छ । त्यस्तै, जिज्ञासा र समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सुरु गरेको छ ।

महानगरले सर्वसाधारणको सुविधाका लागि हटलाइन नम्बर ११८० सञ्चालनमा ल्याएको हो । यस्तै, कोरोनासँग सम्बन्धित जानकारी वा परामर्श आवश्यक परे मोबाइल नम्बर ९८४९८५६६७१, ९८४९८५६६७२ र ९८४९८६०५४७ मा समेत सम्पर्क गरेर जानकारी लिन सकिने महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केले जानकारी दिइन् । महानगरले हटलाइन सञ्चालनमा ल्याए पनि देशभरबाट सोधपुछका लागि फोन आइरहेको छ ।

दैनिक सयौँको संख्यामा फोन गर्ने सर्वसाधारणले कोरोना भाइरसको प्रारम्भिक संक्रमणका लक्षण, रोकथाम, औषधोपचार, अन्य सेवा, निषेधाज्ञाको अवधिमा गर्न मिल्ने र नमिल्ने कार्यलगायत विषयमा सोधेका छन् । समस्या र सूचनाका लागि फोन गर्नेहरूलाई जनस्वास्थ्य अधिकृतसहितको विज्ञको टोलीले २४सैँ घन्टा समस्या समाधानका उपाय र परामर्श गरिरहेको जनस्वास्थ्य अधिकृत मास्केले बताइन् ।