समस्यामा परेका ५३८ जनालाई झापा ल्याइयो

झापा– कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि काठमाडौँमा रहेका ५३८ जनालाई झापा ल्याइएको छ ।

लकडाउन लम्बिएसँगै समस्यामा परेका उनीहरूलाई काठमाडौँबाट झापा ल्याइएको हो । झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले दुई चरणमा ५०० जना र मेची अभियान झापाले ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । सांसद साँवाले झापाबाट काठमाडौँ अध्ययन, रोजगारी, मजदूरी, विभिन्न पेशा व्यवसायका लागि गएकाहरूलाई ल्याइएको बताए । “लकडानका कारण समस्यामा परेको गुनासो आएपछि दुई चरणमा १७ वटा गाडी पठाएर ल्यायौँ”, उनले भने, “केहीले आफ्नो भाडा आफैँ तिरे भने भाडा तिर्ने अवस्था नभएकाहरूलाई निःशुल्क ल्याइयो ।” त्यसरी ल्याइएकाहरू झापाका १५ वटै स्थानीय तहका नागरिक हुन् ।

त्यस्तै, झापाको मेची अभियानले काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । ती सबै विद्यार्थी मेचीनगर नगरपालिकाका हुन् । काँकडभिट्टाबाट गाडी पठाएर उनीहरूलाई निःशुल्क घर आउने व्यवस्था मिलाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

काठमाडौँको विभिन्न कलेजमा अध्ययनरत् उनीहरू लकडाउन लम्बिएसँगै समस्यामा परेका थिए । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेपछि उनीहरूलाई झापा ल्याइएको संयोजक डालमियाको भनाइ छ ।