नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो, २ जनाको मृत्यु

काठमाडौं– नेपालमा फेरि कोरोना भाईरसको संक्रमणबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएसँगै नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

त्यसैगरी प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।