पुरानो मेडिकल कलेजद्वारा विज्ञप्ति जारी, छानबिनमा सघाउने प्रतिवद्धता

चितवन– अवैध मृगौला प्रत्यारोपणको घटनामा कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले आधिकारीक विज्ञप्ति जारी गरेको छ ।

कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा कलेजले सवै प्रक्रिया पुरा गरेर प्रत्यारोपणको काम सम्पन्न गरेको जनाएको छ । साथै कलेजले घटनाको छानबिनमा पनि सघाउने प्रतिवद्धता जनाएको छ भने जारी गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेको छ ।

कलेजले जारी गरेको विज्ञप्तिमा मानव अंग प्रत्यारोपण जस्तो पवित्र काममा सेवा प्रदान गर्ने, जीवन बचाउने स्वास्थ्य संस्था र विषेशज्ञ चिकित्सकलाई स्वतन्त्रतापूर्वक र झन्झटरहित ढंगले काम गर्ने गराउने वातावरण तयार गर्न र विद्यमान कानुनी जटिलता फुकाएर मात्रै प्रत्यारोपणको दर बढाउन सकिने उल्लेख छ । २०६९ सालमा मिर्गौला प्रत्यारोपणको स्वीकृति पाएको कलेजले २०७२ वैशाख ११ र १२ गते दुई जना र २०७६ जेठ २७ गते र माघ ६ गते दुई जना गरी चार जनाको प्रत्यारोपण गरेको छ ।

२०७६ जेठ २७ गते भएको तेस्रो प्रत्यारोपणका क्रममा नक्कली मामा भाञ्जा बनाई आर्थिक लेनदेन गरी प्रत्यारोपण गराएको भन्दै कलेजको ‘प्रत्यारोपण स्वीकृति समिति’ चार सदस्यसहित १२ जना व्यक्तिलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति