आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो

 

काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो ।

बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् ।

जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।

यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

साथै, भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखी चलाउन सकिनेछ । यस्तै निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने पनि उपत्यकाका सीडीओहरुको संयुक्त बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।

यसरी सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।