गन्हाउने लुगा लगायो भन्दै प्रचण्ड–बाबुरामले हेपेपछि मेरो आदर्श स्खलित भयो

काठमाडौं– पूर्व मन्त्री एवम् तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले आफूलाई गन्हाउने लुगा लगाएको र खान–लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेपछि आफ्नो आदर्श स्खलित भएको बताएका छन् ।

विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन् ।

‘मेरो आदर्श स्खलित भएको दिन!’ शीर्षक राखेर उनले लेखको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क. बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उप्काएका छन्। उनले लेखेका छन्, ‘मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभयो! मैले सुनिरहे! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमिठो लाग्यो!’​त्यस घटना पार्टी भर्खरै शान्ति प्रकृयामा आएको बेलाको भएको उल्लेख गर्दै मगरले आफूसँग त्यतिखेर पैसा पनि नभएको उल्लेख गरेका छन्। 

‘आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो’ उनले लेखेका छन्, ‘आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भनननन…चक्कर आयो, तर,सम्हालिएर बसेँ र अडिएँ। यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो : मेरो पार्टी र आदर्श त उहिल्यै सकिएपछि! म उल्लु रहेछु, धत् मोरा! भनेर आफैंलाई बेस्सरी सरापेर स्वेच्छिक अवकाश लिइयो।’​१० वर्षे जनयुद्धको पूरै समय भूमिगत रहेका र जेल नेल समेत भोगेका मगरले पार्टीप्रति असन्तुष्टि जनाउँदै २०७४ असोजमा पार्टी परित्याग गरेका थिए। २०३७ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका विष्ट एकपटक पर्यटन तथा नागरिक उड्डयनमन्त्री र एकपटक स्वास्थ्यमन्त्री बनिसकेका छन्। 

पार्टी छाडेपछि विष्टले काभ्रेको भकुन्डे बेँसी र काठमाडौंको साँखुमा जमिन भाडामा लिएर कालो मार्सी धान खेती गरेका थिए। हाल उनी दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरीमा ड्रागन फ्रुटको खेतीमा लागेका छन्।

मेरो आदर्श स्खलित भएको दिन!एकदिन पोखरा Airport मा क.प्रचण्ड र क.बाबुरामसङ्ग थिए म,VIP कक्षमा। मैले लगाएको पुरानो…

Posted by Lokendra Bista Magar on Monday, July 13, 2020