कोरोना अपडेटः विश्वभर छ लाख ५६ हजारको मृत्यु

पेरिस– विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण छ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब एक करोड ६६ लाखमध्ये करिब एक करोड दुई लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

कोरोनाभाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियम घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तट (बीच) बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपाय घोषणा गर्न थालेका छन् ।

युरोपेली मुलुकले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदम चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ ।

स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । यसबाट धेरै बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीको भ्रमण रद्द गरेका छन् ।

हङकङमा कोरोनाभाइरसको नयाँ सङ्क्रमण शृंखला शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्यरुपमा मास्क लगाउन आदेश दिएको छ ।

बेल्जियमले पनि सामाजिक दूरीका नियममा कडाई गर्न थालेको छ ।

यसैबीच, अमेरिकामा ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

सोमबार साँझसम्म, विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना सङ्क्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ ।

आइतबारसम्म लगातार १२ दिनसम्म अमेरिकामा दैनिक संक्रमितको संख्या ६० हजारको हाराहारीमा रहेको थियो । अमेरिकामा एकै दिन ७० हजारभन्दा बढीमा कोरोना सङ्क्रमितसमेत भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने देशका सीमा बन्द गर्न जरुरी नरहेको बताएको छ । डब्लुएचओका आपतकालीन निर्देशक माइकल रायनले भने, “विश्वको अर्थतन्त्रका लागि, विश्वका गरिबका लागि यो दिगो रणनीति होइन ।”

उनले भिन्नभिन्न मुलुकमा कोरोनाभाइरस भिन्नभिन्न शैलीमा फैलिने गरेकाले पनि सबै मुलुकलाई एकै डालोमा राख्न नहुने बताए । एजेन्सी