कोरोना संक्रमणबाट मोरङ, पर्सामा २/२ जना र काठमाडौंमा १ जना गरी एकैदिन ५ जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट नेपालमा पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएुँगै एकैदिन पाँच जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

उनी मधुमेहका बिरामी हुन् । साउन १८ गते पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको थियो ।

मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको र कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।