काठमाडौँ उपत्यकामै दुइ हजार भन्दा बढि कोरोना संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लामा २ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशव्यापीरूपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका हुन् ।

सोमबारसम्म उपत्यकामा २ हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् ।

यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । मृतक नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् ।

सोमबार मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् । उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् ।

काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।