कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्छ

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन । प्रतिष्ठानले मङ्गलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक आश्वस्त हुनेगरी सरकारले काम गर्न नसकेको बताएको हो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले कोरोना उपचारका लागि सरकारलाई जिम्मेवाररूपमा नागरिकसामु प्रस्तुत हुन आग्रह गरे । “सरकारले क्वारेन्टिनको उचित व्यवस्था र पिसीआर परीक्षण प्रभावकारी बनाउनुपर्छ”, उनको भनाइ छ ।।

उनले अग्रभागमा खटिएर काम गर्ने व्यक्तिको पिसीआर परीक्षणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । अध्यक्ष जोशीले बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै पिसीआर परीक्षणको दायरालाई बढाउँदै जनतालाई निःशुल्क सेवा दिँदै लैजानुपर्ने बताए । सरकारले निजी अस्पतालसँगको सहकार्यमा कोरोना परीक्षणलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।

विश्वका विभिन्न मुलुकले तीव्रगतिमा कोरोना नियन्त्रणका लागि भ्याक्सिन निर्माण गरिरहेको बताउँदै उनले भ्याक्सिनले मान्यता पाउनेबित्तिकै विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरेर नेपाल ल्याउने वातावरणमा सरकार जुट्नुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव ड.सुधा शर्माले कोरोना सङ्क्रमण भएका बिरामी र नभएका बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल बनाउनुपर्ने बताए । कोरोना भएका र नभएका बिरामीलाई एउटै अस्पतालमा उपचारको व्यवस्था मिलाए कोरोना झन् फैलन सक्ने उनको भनाइ थियो । “कोरोनाको उपचारका लागि सरकारले दुई÷चारवटा अस्पताललाई पूर्णरूपमा खाली गरेर उपचार गर्नुपर्छ”, उनले बताए ।